काठमाडौं । सहकारी ठगी कसुरका प्रतिवादी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गरिएको छ ।
सहकारी ठगी प्रकरणमा बयानका लागि लामिछानेसहित पाँच प्रतिवादीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको हो । न्यायाधीश नितिज राईको इललासमा लामिछानेको बयान हुँदैछ ।
रविसहित पूर्व डीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङलाई अदालत उपस्थित गराइएको छ ।
आइतबार उनीहरुविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएकाले आजदेखि बयान हुने छ । त्यसपछि थुनछेक बहस हुने अदालतले जनाएको छ ।
आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेसहित ४४ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरेको थियो।
लामिछानेसहित पाँच जनाविरूद्ध भने सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा दायर भएको छ ।