काठमाडौं । विश्व हिन्दू परिषद् नेपालको सक्रिय पहल तथा स्थानीय धर्मप्रेमी समाजको सहयोगमा सप्तरी जिल्ला, राजविराज नगरपालिका–१४, परसाही गाउँ मा आयोजित ‘ग्राम शुद्धीकरण महायज्ञ (घर वापसी) कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त कार्यक्रममा १३५ जना सहभागीका ८४१ परिवार सदस्यले वैदिक विधि, हवन, पूजा तथा शुद्धीकरण संस्कारमार्फत स्वेच्छापूर्वक पुनः सनातन हिन्दू धर्म अंगीकार गरेका छन्। कार्यक्रम धार्मिक आस्था, सांस्कृतिक संरक्षण तथा सामाजिक एकताको भावनालाई सुदृढ बनाउने उद्देश्यका साथ सम्पन्न गरिएको हो।

विगतका विभिन्न समूहद्वारा रचित षड्यन्त्र तथा परिस्थितिका कारण आफ्नो पुर्ख्यौली सनातन हिन्दू धर्मबाट अलग भएका यी परिवारहरूले आफ्नै इच्छाअनुसार पुनः आफ्नो धार्मिक तथा सांस्कृतिक मूलधारमा फर्किने निर्णय गरेका हुन्।
विश्व हिन्दू परिषद् नेपालले उनीहरूलाई पूर्ण सम्मानका साथ सनातन हिन्दू समाजमा स्वागत गरेको छ।
यस अवसरमा आयोजित वैदिक अनुष्ठान, हवन, पूजन तथा धार्मिक प्रवचनमार्फत सनातन हिन्दू धर्मका मानवीय मूल्य, पारिवारिक संस्कार, सामाजिक सद्भाव, राष्ट्रिय एकता तथा सांस्कृतिक सम्पदाको संरक्षणको महत्त्वबारे प्रकाश पारिएको थियो। सहभागीहरूले आफ्नो पुर्खाको धर्म, संस्कृति र परम्परासँग पुनः जोडिन पाएकोमा हर्ष व्यक्त गरेका थिए।

घर वापसी अभियान पूर्ण रूपमा स्वेच्छा, सम्मान र वैदिक परम्परा अनुरूप सञ्चालन गरिन्छ। यस अभियानको उद्देश्य कसै प्रति विरोध वा द्वेष फैलाउनु नभई आफ्नो पुर्ख्यौली सनातन परम्परामा स्वेच्छाले फर्कन चाहने व्यक्तिहरूलाई धार्मिक तथा सांस्कृतिक सहयोग प्रदान गर्नु हो।
विश्व हिन्दू परिषद् नेपालले विगत केही वर्षदेखि नेपालका विभिन्न जिल्ला तथा समुदायमा सञ्चालन गर्दै आएको ग्राम शुद्धीकरण (घर वापसी) अभियान मार्फत हजारौँ व्यक्तिहरू पुनः आफ्नो सनातन हिन्दू धर्ममा स्वेच्छाले आवद्ध भइसकेका छन्।
परिषद्ले आगामी दिनमा पनि धार्मिक, सांस्कृतिक संरक्षण, सामाजिक समरसता तथा राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउने यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
