काठमाडौं । पशुपतिनाथ मन्दिर दर्शन गर्न आएका श्रद्धालुका गरगहना लुटपाट गरेको आरोपमा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको गोरखपुर घर भई हाल भक्तपुरमा बस्दै आएका रञ्जित चौधरी र शान्ति चमार रहेका छन्।
उनीहरूलाई प्रहरी वृत्त गौशालाको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराई ले जानकारी दिए।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट सुनका सिक्री, झुम्का, मुन्द्रा, मंगलसूत्र, लकेट, ब्रासलेट, चाँदीका औँठी, पाउजु, सिक्रीलगायत विभिन्न गरगहना बरामद गरिएको छ।
यस्तै, उनीहरूबाट नेपाली रुपैयाँ १ लाख १५ हजार ५०० तथा भारतीय रुपैयाँ ८० हजार समेत बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले दुवै जनाविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान अघि बढाएको जनाएको छ।