काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा तारेखमा रिहा भएका छन्। काठमाडौँ जिल्ला अदालतले बयानपछि उनलाई तारेखमा छाड्न आदेश दिएको हो।
सीआईबीले ठुलै काण्ड जस्तो गरी प्रेस रिलिज गरेर शेर्पा पक्राउ परेको जनाएको थियो। तर अदालतले साधारण तारेखमा छाड्ने आदेश दिएपछि सीआईबीलाई धक्का लागेको छ। यद्यपि, शेर्पा रिहा भए पनि उनीमाथिको अनुसन्धान भने जारी रहने सीआईबीले जनाएको छ।
उनीमाथि हात्तीगौँडास्थित टुङ्गराम इन्टरनेशनल एकेडेमीको कार्यकारी प्रमुखका रूपमा कार्यरत रहँदा विभिन्न प्रपञ्च र योजनाबद्ध तरिकाबाट विद्यालयको ८ करोड ७८ लाख ३० हजार रुपैयाँ अपचलन गरेको आरोपमा अनुसन्धान अघि बढाइएको थियो ।
प्रारम्भिक अनुसन्धानबाट शेर्पाले विद्यालयलाई आर्थिक रूपमा नोक्सानी पुर्याउने उद्देश्यले डर, त्रास र अनुचित प्रभाव प्रयोग गरी भक्तपुरको दधिकोटस्थित २९ रोपनी ४ आना जग्गा आफ्नै स्वामित्वको कम्पनीमा बिक्री गराएको तथ्य फेला परेको सिआइबीले दाबी गरेको थियो।
सीआईबीले शेर्पालाई असार १२ गते काठमाडौंको बुढानीलकण्ठ–६, गणेशचोकबाट पक्राउ गरेको थियो।