काठमाडौं । नेपाल प्रहरीमा रिक्त हुने २५ एसएसपी पदका लागि प्रतिस्पर्धा झन् पेचिलो हुँदै गएको छ । बढुवामा नयाँ टोलीका एसपीहरू समेत शक्तिकेन्द्र धाउन थालेपछि बढुवा अझै लम्बिने सम्भावना देखिएको छ ।
बढुवामा पाँच टोलीबिच प्रतिस्पर्धा हुने भएको छ । सिनियर भएपनि कार्यसम्पादनमा कमजोर रहेका कारण यसअघि छुटेका गोविन्द अधिकारी र बिनोद सिलवाल यसपटक बढुवामा पर्ने सम्भावना धेरै छ।
यसबाहेक ११४ टोलीबाट चार टोली यतीबेला प्रतिस्पर्धामा छन्। फरक–फरक समयमा बढुवा भएका यो ब्याचका ६० भन्दा धेरै एसपीहरु बढुवा हुने प्रतिस्पर्धामा छन् ।
पहिलो लटमा बढुवा हुने रमेश थापा,कृष्ण पंगेनी, नवराज अधिकारी, विमलराज कँडेल, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, रञ्जु सिग्देल, अनुपम शमशेर जबरा, श्याम कुमार महतो, प्रकाश रानाभाट, वीरबहादुर बुढा, अजय केसी, कमल थापा छन् ।
उनीहरुमध्ये थापामाथि गम्भीर छानविन भइरहेकाले उनको सम्भावना कम छ । दोस्रो लटमा बढुवा भएका होबिन्द्र बोगटी, प्रभु ढकाल, सन्तोषसिंह राठौर, शिव श्रेष्ठ, दयानिधी ज्ञवाली, शान्तिराज कोइराला, बेद बिष्ट, संजयसिंह थापा, प्रकाश मल्ल, सन्तोष भट्टराई, दीपक पोखरेल, महेन्द्र खड्का, केदार खनाल, दीपेन्द्र शाही पनि राजनीतिक पहुँचका आधारमा शक्तिशाली छन् ।
यही टोलीका तुलबहादुर कार्की, राकेश सिंह, राजीब बस्नेत, राजेन्द्र धमला, ज्ञानेन्द्र फुयाल २०७७ को बैशाखमा बढुवा भएका हुन् । ११४ कै ब्याचबाट २०७७ को माघमा १५ जना एसपी भएका थिए ।
जसमा भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेश काफ्ले, अमरेन्द्रबहादुर सिंह, श्यामसिंह चौधरी, नकुल पोख्रेल, पदम विष्ट, सुवासचन्द्र बोहरा, वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्र श्रेष्ठ, दिलीप घिमिरे, वीरेन्द्रबहादुर शाही छन्।
उनीहरुमध्ये अमरेन्द्रबहादुर, श्यामसिंह, सुरेश, राजकुमार र योगेन्द्रसिंह राजनीतिक पहुँचका आधारमा शक्तिशाली देखिएका छन्। त्यस्तै, २०७८ को मंसिरमा एसपीहरु समेत आफुहरुको समेत तीन वर्ष अवधि पुगेकाले योग्य भएको भन्दै शक्तिकेन्द्र धाउन थालेपछि बढुवामा झन्– झन् प्रतिस्पर्धा बढ्दै गएको हो ।
यो टोलीमा जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सीना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाट छन् ।
उनीहरुमध्ये चक्रराज जोशी गृहमन्त्री रमेश लेखकको गृहजिल्लामा कार्यरत रहेको र शेरबहादुर देउवाको टिमसँग निकट भएकाले उनले दबाब दिइरहेको चर्चा प्रहरी प्रधान कार्यालयमा छ ।
एसपी भएको तीन वर्ष पुगेलगत्तै एसएसपी हुन दौडधुपमा लागेका उनीहरुलाई आईजीपी बसन्त बहादुर कुँवरले समेत हप्काएको स्रोत बताउँछ ।
तुलनात्मक रुपमा दोस्रो र तेस्रो लटका एसपीहरु राजनीतिक पहुँच र पैसाका आधारमा बलियो भएकाले पहिलो लटका केही एसपीहरुमाथि बढुवामा अन्याय हुने जोखिम देखिएको छ ।
पावर र पैसाको टक्करकै कारण तीन पटक एआईजीको बढुवा निकाल्दा पनि एसएसपीमा भने एकपटक समेत हुन सकेको छैन ।
ढिलाई हुँदा बढुवामा अस्वस्थ चलखेल बढेका छन् । अबको चार दिनभित्र प्रहरीमा एआईजीका दुई पद रिक्त हुँदैछन् ।
त्यस्तै, तीन एसएसपी डीआईजीमा बढुवा हुनेछन् । त्यसपछि मात्र एसएसपी बढुवा हुने भएकाले अझै एक महिना लाग्ने सम्भावना देखिएको छ।
बढुवामा अत्याधिक चलखेल र राजनीतिकरण भएपछि एक साताअघि आईजीपी कुँवरले शक्तिकेन्द्र धाउनेलाई कारबाही गर्ने भन्दै परिपत्र समेत गरेका थिए । तर, त्यो परिपत्रलाई कसैलाईले टेरेका छैनन् ।