काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'माथि कटाक्ष गरेका छन् ।
बाँस्कोटाले आज सामाजिक सञ्जालमार्फत् प्रचण्डले सत्ता खुस्केको झोक सिस्टममाथि पोख्न मिल्छ भन्दै प्रश्न गरेका हुन् । हिजो मात्रै प्रचण्डले अहिलेको उपलब्धि खोस्न खोजियो भने देश राजनीतिक दुर्घटनातिर जाने अभिव्यक्ति दिएका थिए ।
त्यसको जवाफमा बाँस्कोटाले बडेमान नेताले सत्ता खुस्केको झोक सिस्टममाथि नै पोख्न मिल्छ भन्दै प्रश्न गरे ।
उनले लेखेका छन्, 'कमरेड सुप्रिमोले सरकार मात्र नभै सिस्टम नै खतरामा परेको ऐलान फिस्सै नमानी पिट्दिन भ्याए छन्। बडेमान नेताले सत्ता खुस्केको झोक सिस्टममाथि नै पोख्न मिल्छ र भन्या ? कि उनको लाइन पनि भुटान भ्रमण प्रभावी हो ? प्रमाण त छैन तर शंकाको सुविधा पाइयो। सजिलै गणतन्त्र खतरामारु आउछ के र को ? जवाफ खै ?'
यसअघि हिजो बिहीबार चितवनको माडीस्थित सोमेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै दाहालले सरकार यही किसिमले अघि बढे राजनीतिक दुर्घटना हुने धम्की दिएका थिए ।