काठमाडौं । भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीलाई अर्थ मन्त्रालयले विभागबाट फिर्ता बोलाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रीस्तरीय निर्णय गर्दै भण्डारीलाई मन्त्रालयमा तानेका हुन् ।
भण्डारीलाई गत वर्ष साउनमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले भन्सार विभागको महानिर्देशकमा नियुक्त गरेका थिए। त्यसअघि उनी अर्थ मन्त्रालयको योजना महाशाखा प्रमुखका रूपमा कार्यरत थिए ।
भण्डारी फिर्ता बोलाइएपछि विभागको निमित्त महानिर्देशकको जिम्मेवारी उपमहानिर्देशक भरतमणि पाण्डेलाई दिइएको छ ।
बजेट वक्तव्य सार्वजनिक हुनुअघि विभिन्न ब्रान्डका विद्युतीय (इभी) गाडी रसुवागढी नाकाबाट भएको भन्सार जाँचपाससम्बन्धी विषयमा मन्त्रालय र मातहतका निकायलाई गलत सूचना प्रवाह गरी गुमराहमा पारेको आरोपपछि भण्डारीमाथि कारबाहीस्वरूप यो निर्णय गरिएको हो।
इभी आयातसँग जोडिएको उक्त प्रकरण पछिल्ला दिनमा विवादमा तानिएको थियो ।