काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा मात्रै नेपालले साढे २० अर्ब रुपैयाँ बराबरको धान तथा चामल आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गएको ६ महिना (साउन–पुस)मा नेपालले २० अर्ब ३८ करोड ६५ लाख रुपैयाँ बराबरको धानचामल आयात गरेको हो ।
विभागका अनुसार गत आव २०८१/८२ को सोही अवधिको तुलनामा यस वर्ष धान र चामल आयातमा १ अर्ब २८ करोड रुपैयाँभन्दा धेरै वृद्धि देखिएको हो ।
गत वर्ष साउनदेखि पुससम्म नेपालले १९ अर्ब ९ करोड ९६ लाख बराबरको धान र चामल आयात गरेको थियो । सोही अवधिको तुलनामा धानचामल आयात मूल्य करिब ६।७३ प्रतिशतले वृद्धि भएको छ ।
चालु आव पुससम्म ४ अर्ब २७ करोड १२ लाखको बासमती चामल आयात भएको छ, जुन गत वर्ष सोही अवधिमा ३ अर्ब ७६ करोड ७३ लाखमात्र थियो ।
त्यसैगरी अन्य अर्ध–पालिस वा पूर्ण पालिस गरिएका चामल आयात पनि उल्लेख्य बढेको छ । गत वर्ष ४ अर्ब ९० करोड ५६ लाख रुपैयाँको यस्तो चामल भित्रिएकोमा यस वर्ष बढेर ६ अर्ब २ करोड ६ लाख पुगेको छ ।
प्रशोधित चामल आयात बढे पनि धान आयातमा भने सामान्य गिरावट आएको छ । गत वर्ष ६ महिनामा १० अर्ब ४२ करोड ४४ लाख बराबरको २७ करोड ५५ लाख किलो धान आयात भएकोमा यस वर्ष ९ अर्ब ८७ करोड ९ लाख र परिमाण २७ करोड ७ लाख किलोमा झरेको छ ।
यसैगरी बिउका लागि प्रयोग हुने धान आयात भने यस वर्ष बढेर २२ लाख ८३ हजार रुपैयाँ पुगेको छ, जबकि गत वर्ष ६० किलो बिउका लागि जम्मा ४ हजार रुपैयाँमात्र बाहिरिएको थियो ।
गत वर्ष पहिलो ६ महिनामा जम्मा १७ लाख ५४ हजार रुपैयाँको कनिका आयात भएकोमा यस वर्ष ५३ लाख ३० हजार किलोभन्दा बढी परिमाणको २२ करोड ७ लाख ६८ हजार बराबरको कनिका नेपाल भित्रिएको छ ।