काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन गाउँ विकास समितिका सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले साविक आदर्श गाविस भवानीपुर जीतपुरका सचिव आस महमद अन्सारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीविरुद्ध ३८ लाख ३० हजार ५०० भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
साविक आदर्श गाविस भवानीपुर जीतपुर हाल जीतपुरसिमरा उपमहानगरपालिका भएको छ ।
तत्कालीन सचिव अन्सारीले गुदरी बजार र मिना बजारका सटरहरू उपभोक्तालाई भाडामा लगाउँदा लिएको धरौटी वापतको रकमसँग सम्बन्धित कागजातहरू लुकाइ बरबुझारथ समेत नगरेको र २२१ जना उपभोक्ताहरूबाट लिएको धरौटी वापतको ३८ लाख ३० हजार ५०० रुपैयाँ खातामा जम्मा नगरेको अनुसन्धानबाट खुलेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।
आयोगका अनुसार धरौटी वापत विभिन्न २१२ जनासँग लिएको रकमको विवरणसहितका कागजात तथा अन्य सरकारी सार्वजनिक निकायको कागजात लुकाएको र नोक्सान गरेको पुष्टि भएको हुँदा अन्सारीलाई भ्रष्टाचार ऐन,२०५९ को दफा १२ बमोजिमको कसुरमा कैद र जरिवाना सजायसमेतको माग दावी गर्दै अभियोग पत्र दायर गरेको हो।