काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई बहुमत दिन अपिल गरेका छन्।
पार्टीको तुलसीपुर नगर कमिटीले आयोजना गरेको तेस्रो नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त आग्रह गरेका हुन् ।
पहिला लडाइँमा साथ दिएका जनताले अब सृमृद्धिको अभियानमा साथ दिने विश्वास पनि उनले व्यक्त गरे।
अध्यक्ष प्रचण्डले भने, ‘यसपटक म देशभर अपिल र अनुरोध गर्न अभियानमा गएको छु। हामीलाई ६४ मा मत दिनुभएका जनतालाई मेरो अनुरोध छ, आग्रह छ। हामीले हाम्रो गल्ती कमजोरी सच्याउछौँ। तपाईँहरूले पनि आफ्नै छोराछोरी त हुन् नि भनेर एकचोटी ६४ मा जस्तै माया गरिदिनुभयो भने, बहुमत दिनुभयो भने ०८४ मा हामी बहुमतमा आउनेछौँ। त्यो बहुमतले यो देशबाट भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्नेछ। सामाजिक विभेदको अन्त्य गर्नेछ। न्याय स्थापित गर्नेछ। आर्थिक समृद्धिमा देश अगाडि बढ्नेछ।’
तेस्रो पटक सरकारको नेतृत्व गर्ने अवसर प्राप्त हुँदा आफूले यसअघिका कमिकमजोरीलाई सच्याएर जनताको पक्षमा भ्रष्टाचारविरुद्ध सुशासनको अभियान चालेको उनको दाबी थियो ।
त्यस्तै, अध्यक्ष प्रचण्डले अहिले सरकारको नेतृत्व गरिरहेकाहरूले आफैंमाथि अनुसन्धान गरेर देखाउन चुनौती दिए।
प्रचण्डले भने, ‘म चुनौतीका साथ भन्न चाहान्छु । अहिले सकारको नेतृत्व गर्नेले मैले झैँ आफैंलाई अनुसन्धान गरेर देखाउनू ।’