काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठक स्थगित भएको छ । कोरम नपुग्दा बुधबार साढे ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।
बैठक ऊर्जामन्त्री दीपक खड्काविरुद्धको उजुरीमाथि छलफल गर्नका लागि बोलाइएको थियो । समितिमा कांग्रेसका ८ जना सांसद सदस्य रहेकोमा दुई जना मात्रै उपस्थित भएका थिए। समितिमा सबैभन्दा धेरै प्रतिनिधित्व नेपाली कांग्रेसका सांसद्को छ ।
कांग्रेसका राजेन्द्र बजगाईं र कल्पना चौधरी मात्रै उपस्थित भए भने अन्य पार्टीका सांसदहरूको पनि न्यून उपस्थिति रह्यो। २६ सदस्यीय समितिमा १२ जना मात्रै सांसदको उपस्थिति थियो ।
कांग्रेसका सांसदहरू पनि हाजिरी लगाएर एजेन्डामा प्रवेश नगर्दै बाहिरिएका थिए । कांग्रेसका सांसदहरू अमबहादुर गर्बुजा, दिनेशकुमार यादव, प्रतिमा गौतम, मैना कार्की, शंकर भण्डारी र सीता गुरुङ अनुपस्थित रहे।
बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्का र राज्यमन्त्री पूर्णबहादुर तामाङ पनि आमन्त्रित थिए ।
मुगु कर्णाली र किमाथांका जलविद्युत आयोजना ठेक्का प्रक्रियामा भएका अनियमितताबारे समितिमा परेका उजुरीमाथि छलफल गर्न बैठक बोलाइएको थियो ।