काठमाडौं । आज संघीय संसदका ८ वटा संसदीय समितिको बैठक बस्दै छ । प्रतिनिधिसभाका ६ र राष्ट्रियसभाका दुई समितिको बैठक बस्न लागेको हो ।
संसद सचिवालयका अनुसार बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सदस्यहरूसँग छलफलका साथै विविध विषयमा छलफल हुनेछ ।
त्यस्तै बिहान साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा माउन्ट एभरेस्ट ब्रुअरीमा कार्यरत श्रमिकहरूको पारिश्रमिक सम्बन्धमा छलफल हुनेछ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा समितिको आगामी कार्यक्रम तथा समसामयिक विषयमा छलफल हुनेछ । बिहान ११ बजे नै बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको आगामी अनुगमन भ्रमण तथा कार्य्रम सम्बन्धमा छलफल हुनेछ ।
सवा १२ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । आजको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुने संसद सचिवालयले जनाएको छ ।