ताप्लेजुङ । ताप्लेजुङ प्रशासनले फुङलिङ क्षेत्रमा लागू गरिएको निषेधाज्ञा हटाएको छ । जिल्ला सुरक्षा समितिको मंगलबार बसेको बैठकले राति ११ बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले साँझ एक सूचना जारी गर्दै जिल्ला सुरक्षा समितिको सिफारिसअनुसार निषेधाज्ञा हटाइएको जानकारी दिएका छन्।
नो केबलकार पक्षधरले मंगलबार दिउँसो वार्ताका लागि चार वटा सर्त अघि सारेका थिए र ती सर्त पुरा भएपछि मात्र वार्तामा बस्ने अडान लिएका थिए। प्रशासनले ती सर्तहरू अनुसार निषेधाज्ञा हटाउने निर्णय गरेको हो।
नो केबलकार पक्षधरले आन्दोलन तीव्र बनाएपछि प्रशासनले गत आइतबार बिहान ५ बजेदेखि फुङलिङ क्षेत्रमा निषेधाज्ञा लागू गरेको थियो। आन्दोलन पक्षधर र प्रशासनबीच समझदारी भएपछि निषेधाज्ञा हटाइएको हो।