काठमाडौं । नेकपा एमालेले जनवर्गीय संगठनमा केन्द्रीय पदाधिकारीको संख्या घटाएर ९ जनाको बनाउने निर्णय गरेको छ । आइतबार पार्टी कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
जनसङ्गठन समन्वय सम्बन्धी निर्देशिकामा संशोधनका गरी केन्द्रीय पदाधिकारीको संख्या घटाएर ९ जनामा सीमित गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
यस अगाडि एमालेका जनवर्गीय संगठनहरूमा १७ सदस्यीय केन्द्रीय पदाधिकारी रहने व्यवस्था गरेको थियो ।
पोखरेलले जनसंगठनमा केन्द्रीय कमिटी, सचिवालय र स्थायी कमिटीको अभ्यास भइरहेकोमा अब स्थायी कमिटीको संरचना नराख्ने निर्णय भएको जानकारी दिए। उनले सम्बन्धित संगठनले आफ्ना विधानको माध्यमबाट सो संरचना परिवर्तन गर्ने उल्लेख गरे।
उनका अनुसार अब जनसंगठनमा अध्यक्ष एक जना, उपाध्यक्षमा एक जना महिलासहित २ जना, महासचिव १ जना, उपमहासचिव १ जना, सचिव र कोषाध्यक्षसहित ४ जना गरी ९ जना पदाधिकारी रहनेछन् ।