रुपन्देही । गृहमन्त्री रमेश लेखकले पर्यटकलाई नम्र र मिठासपूर्ण व्यवहार गर्न अध्यागमनका कर्मचारीलाई गृहमन्त्रीको निर्देशन दिएका छन्।
रुपन्देहीको बेलहियामा अध्यागमन कार्यालयको भवन समुद्घाटन गर्दै गृहमन्त्री लेखकले सो कुरा बताएका हुन् । उनले नाकामा बनेका पूर्वाधारहरुले रुपन्देहीको बेलहिया नाकालाई मुलुककै ठूलो नाकाका रुपमा स्थापित गरेको बताए।
मुलुकका सीमा क्षेत्रमा १३ वटा अध्यागमन कार्यालय रहेको र ती कार्यालयले पर्यटकलाई सहज बनाएको जनाउँदै उनले सेवाप्रवाह चुस्त हुनुपर्नेमा जोड दिए।
गृहमन्त्री लेखकले भने,‘पछिल्ला दिनमा सबै ठाउँबाट पर्यटक आगमन राम्रो छ। यो ठाउँ बुद्ध जन्मभूमि भएकाले धार्मिक पयर्टकको सम्भाना छ। हामीले पर्यटनमैत्री वातावरण बनाइरहेका छौं, पर्यटक आगमनलाई व्यवस्थित गरिरहेका छौं । हाम्रो लक्ष्य पर्यटक आगमन वृद्धि गर्ने हो। पर्यटक बढ्दा यसले मुलुकलाई आर्थिक रुपमा समृद्धि बनाउँछ।’
गृहमन्त्री लेखकले अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरुले पर्यटक र आमसेवाग्राहीलाई नम्र, सरल र मिठासपूर्ण व्यवहार गर्नुपर्ने बताए।
उनले कार्यालयहरूमा हुने व्यवहारबाट जनताले सुख पाए २० जनालाई राम्रो भन्ने तर एकजनाले पनि दुःख पाए त्यसले धेरैलाई नराम्रो प्रभाव पार्नसक्ने जनाए।
उनले नेपालीहरु संसारकै सबैभन्दा राम्रो संस्कृतिमा हुर्किएका मान्छे भएको जनाउँदै अध्यागमनमा जस्तो व्यहार हुन्छ, नेपालबारे पर्यटकले त्यही बुझ्ने बताए। गृहमन्त्री लेखकले वर्तमान सरकार बनेको आठ महिना हुन लागेको र सरकारले समृद्धिलाई पछ्याइरहेको जनाए।