डोटी । गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्याकाण्डको विषयमा थप अनुसन्धान भइरहेको बताएका छन् ।
डोटीको दिपायलमा प्रेस युनियन डोटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले सो कुरा बताएका हुन् ।
उनले आफू गृहमन्त्री भएर आउने बित्तिकै निर्मला पन्तको हत्याकाण्डबारे गहिरो ढंगले थप अनुसन्धान गर्न निर्देशन दिएको दाबी गरे ।
उनले निर्मला पन्तको घटना लगायत महिलामाथि हुने यस्ता प्रकारका घटनाहरूका विषयमा सरकार गम्भीर भएको बताए ।
गृहमन्त्री लेखकले महिलाहरूमाथि हुने अपराधका घटना न्यून गर्नमा सञ्चारकर्मीहरुले पनि चेतनामूलक सन्देशहरु प्रकाशन एवं प्रसारण गर्नु पर्ने बताए ।
निर्मला हत्या प्रकरण आफूले गम्भीरताका साथ लिएको र घटनाको सुक्ष्म ढंगले अनुसन्धान भइरहेको गृहमन्त्री लेखकले दाबी गरे ।
२०७५ साल साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टा खामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो ।