काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिलालाई राज्यका विभिन्न अङ्गमा अधिकारसहित स्थान दिने क्षेत्रमा नेपाल अगाडि रहेको बताएका छन् ।
शनिवार ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
सभापति देउवाले राज्यका महत्वपूर्ण पदमा महिलालाई अनिवार्य स्थान दिने बाध्यकारी व्यवस्था अन्य देशमा नभएको जिकिर गरे ।
उनले सभामुख र उपसभामुख तथा स्थानीय तहका प्रमुख वा उपप्रमुख मध्ये एक पदमा महिलाको अनिवार्य व्यवस्था गरेर स्थानसहित अधिकार दिएको उल्लेख गरेका छन् ।
महिलाको उत्थान मात्र नभएर अधिकारसँगै महत्वपूर्ण जिम्मेवारी दिने काममा पनि नेपाल अगाडि बढिरहेको उनको भनाइ थियो।
सभापति देउवाले भने, ‘अहिले हरेक पालिकाहरूमा अनिवार्य रुपमा एक जना महिला राखेका छौँ। उपसभामुख, राष्ट्रपति उपराष्ट्रपतिमा पनि महिलालाई पुर्याइ सकेका छौँ। देशभर महिलालाई अधिकारसहित स्थान दिएका छौँ।’