कास्की । काठमाडौं फर्कनुअघि पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार बिदाइ भोज दिएका छन् । पोखरा बसाइको अन्तिम रात उनले आफू बसिरहेको पोखरा २१ स्थित मर्निङ ग्लोरी रिसोर्टमा पोखरा र आसपासका व्यक्तित्वहरुलाई बिदाइ भोज दिएका हुन् ।
भोजमा प्राडा जगमान गुरुङसहित सांस्कृतिक अध्येता सुनील उलक लगायतको सहभागिता रहेको थियो । त्यसबाहेक पोखराका विभिन्न धार्मिक संस्थाका प्रतिनिधि सहभागी थिए ।
स्याङ्जाको आलमदेवी, बागलुङ कालिका, म्याग्दीको गलेश्वर मन्दिरसहित पोखराको धर्मोदय सभा, भैरव सांस्कृतिक समिति लगायतका संस्थाका प्रतिनिधि पनि निम्त्याइएका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ताहरु पनि शाहको भोजमा सहभागी बनेका थिए । आज काठमाडौं फर्कन लागेका उनलाई राजावदीहरुले भव्य स्वागतको तयारी गरेका छन् ।
उनी अपराह्न ३ बजे त्रिभुवन विमानस्थलमा उत्रिने पूर्वनिर्धारित तालिका छ । राप्रपाले दिउँसो १ बजे विमानस्थलमा आउन कार्यकर्ता र आम सर्वसाधारणलाई अपिल गरेको छ ।