काठमाडौं । राजावादी दल राप्रपाले मुलुकलाई निकास दिन र कसैलाई निषेध नगर्ने व्यवस्थाका लागि ‘नवीन समझदारी’गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आज केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले यस्तो आह्वान गरेको हो।
बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको सम्मान र स्वागत कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ ।
आम नागरिकको विशाल र उत्साहजनक उपस्थितिले नेपालमा राजसंस्थाको आवश्यकता र अपरिहार्यता प्रमाणित भएको राप्रपाको जिकिर छ ।
बैठकपछि प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘आम नागरिकको चाहना, देशको आवश्यकता, सडकमा प्रतिबिम्वित जनभावना अनुरुप मुलुकलाई निकास दिन र कसैलाई निषेध नगर्ने व्यवस्थाका लागि ‘नवीन समझदारी’गर्न राप्रपा सबै राजनीतिक दललाई आह्वान गर्दछ ।'