काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीको उम्मेद्वारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई बदर गरेको छ ।
ललितपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय सर्वोच्चले बदर गरेको हो ।
सर्वोच्चका न्यायाधीशद्वय डा। मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले मंगलबार गरेको फैसलासँगै कार्कीको सांसद पद सुरक्षित बनेको छ ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनका क्रममा निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरिदिएको थियो । त्यसविरुद्ध कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।
उक्त रिटमाथि २०७९ कात्तिक १५ गते सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको इजलासले आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
उक्त आदेशपछि कार्की निर्वाचनमा सहभागी भएर विजयी समेत बनेकी थिइन् । त्यसको २ वर्ष ४ महिनापछि उक्त रिटको अन्तिम किनारा लागेको हो । सर्वोच्च अदालतको यो फैसलापछि उनको पद सुरक्षित बनेको छ ।