काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले गलत निर्णयहरू गर्दै आम नागरिकको असन्तुष्टिलाई अझ बढाउने काम गरिरहेको बताएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।
महामन्त्री थापाले सरकारको प्रभावकारी डेलिभरीबाट नागरिकको असन्तोष मत्थर पार्नुपर्नेमा उल्टै असन्तुष्टिलाई मलजल गर्ने निर्णयहरू लिइएको भन्दै आलोचना गरे ।
उनले भने, 'आम नागरिकमा असन्तुष्टि बढ्दो छ। त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ। यस्तो बेला सरकारले असन्तुष्टिलाई सम्बोधन गर्दै आगो निभाउनु पर्ने हो, तर सरकार आफैँ मट्टितेल हाल्ने काम गर्दैछ।'
थापाले सरकारलाई सचेत गराउँदै भने, 'हामीले यस्तो नगरौँ है भनेका छौँ। तर निर्णय फेरि गलत नै गर्ने ? मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो, तर विडम्बना त्यो भइरहेको छैन।'
उनले सरकारलाई गलत निर्णय सच्याएर सही मार्गमा हिँड्न आग्रह गरे। 'निर्णय गलत छ, सरकार ! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन,' उनले भने ।