काठमाडौं । रास्वपाबाट हटाइएका पूर्वमहामन्त्री डा. मुकुल ढकालले भोलिबाट नेपालमा 'प्रचण्ड युग'को अन्त्य सुरु हुने टिप्पणी गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबूकमार्फत उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले चैत १५ को आन्दोलनमा पुष्पकमल दाहाललाई दुर्गा प्रसाईंले उछिन्ने दाबी गरे । चैत्र १५ गतेको आन्दोलनमा जनसहभागिताको हिसाबमा दुर्गा प्रसाईंले प्रचण्डलाई उछिन्ने छन् र भोलिकै दिनबाट नेपालमा 'प्रचण्ड युग'को अन्त्य सुरु हुनेछ, उनले लेखेका छन्।
यस्तै उनले राष्ट्रपतिको ठाउँमा राजा राख्दैमा व्यवस्था बदलिएको नहुने बताए ।
उनले लेखेका छन्, राष्ट्रपतिको ठाउँमा राजा राख्दैमा व्यवस्था बदलिएको हुँदैन। यो त शिरमा लगाएको टोपी परिवर्तन गरेको जस्तो मात्रै हो। शिरको टोपी राजाको लाउनुहोस् वा राष्ट्रपतिको तर, टाउकोदेखि शरीरसम्मका थुप्रै अङ्गको यहाँ उपचार आवश्यक छ ।
उनले व्यवस्था बदलिनका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुनुपर्ने बताएका छन्।
'न्यायलय, अख्तियारलगायत निकायमा हुने दलीयकरण अन्त्य गर्दै छिटो छरितो न्याय सेवा र शक्तिशाली अख्तियार बनाएर, इन्तु, किन्तु, परन्तु केही नभनी प्रदेश खारेज गरेर, झन्टझटिलो सार्वजनिक सेवाको आमूल रूपान्तरण गरेर, निर्वाचन प्रणाली बदलेर, जनताको माग- सनातन हिन्दूत्वको पहिचान जोगाएर र राइट मेन एट राइट प्लेस हुनेगरी राजनीतिक हस्तक्षेपमुक्त राज्यका सेवामा नियुक्ति, सरूवा, बढुवाको प्रणाली स्थापना गरेर व्यवस्था बदल्न सकिन्छ,' उनले थपेका छन् ।