काठमाडौं । राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका जनकमान्डर दुर्गा प्रसाईंले आफूलाई जनरबन्दमा राख्नेसम्मको योजना बनिरहेको दाबी गरेका छन् ।
बिहीबार समाजिक सञ्जाल फेसबुकमार्फत मेडिकल व्यवसायीसमेत रहेका उनले यस्तो दाबी गरेका हुन् । उनले आफूहरूको सक्रियता देखेर सरकार अतालिएको र आफूलाई नजरबन्द गर्ने योजना बनाइरहेको दाबी गरे ।
'सरकार अत्तालिएको छ, मलाई नजरबन्द गर्नेसम्मको योजना बुन्दैछ। तर, म डराउँदिनँ, भाग्ने छैन,' उनले भनेका छन्। उनले चैत १५ अर्थात् भोलि नेपालीहरूको मुक्तिको लागि होमिने दिन भएको पनि बताएका छन्।
'नेपाल आज इतिहासकै सबैभन्दा कठिन अवस्थामा आइपुगेको छ। नेपालभित्र नेपाली छैनन्, व्यापार छैन, रोजगारी छैन, मुट्ठीभर मारवाडीको हातमा राज्यको सारा सम्पत्ति छ। बैंक, सहकारी लघुवित्त पीडितको रुवाबासी छ। हामी नेपाली अभिभावक बिहिन छौँ। अब हामी चुप लागेर बस्ने दिन छैनौँ,' उनले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन् ।
संयोजक सुवेदीले जारी गरेको अपिलमा संवैधानिक राजसंस्थासहित हिन्दू अधिराज्य पुनर्स्थापना, संघीयता खारेजी, भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि अभियान थालिएको उल्लेख छ ।