काठमाडौं । तीनकुनेमा राजसंस्था पक्षधर प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको छ । आन्दोलनकारीले बानेश्वरतर्फ जाने प्रयास गरेपछि प्रहरीले पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको जनाएको छ ।
प्रहरहीले केही आन्दोलनकारीमाथि लाठीचार्ज पनि गरेको छ । अश्रुग्यास प्रहार गरेपछि सहभागीहरुको भागाभाग भएको छ ।
सभाका लागि विभिन्न ठाउँबाट मानिसहरु प्रदर्शनमा आइरहेका थिए । प्रहरीले बानेश्वरतर्फ जाने सडक बन्द गराएको थियो । त्यहाँको प्रहरी घेरा तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको जनाएको छ ।
प्रहरीले काठमाडौँको तीनकुनेबाट केही प्रदर्शनकारीलाई पक्राउ गरेको छ । प्रहरीको ब्यारिकेड तोडेर बानेश्वरतर्फ प्रवेश गर्न खोजेपछि उनिहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
सभाका लागि विभिन्न ठाउँबाट राजाका समर्थकहरु भेला हुन तिनकुने आउने क्रम जारी थियो । उनीहरुको सभा सुरु नहुँदै तनाव सिर्जना भएको हो ।
कार्यक्रम बिथोलिएपछि नेताहरु कार्यक्रमस्थलबाट हिँडेका छन् । अश्रुग्याससमेत प्रहार भएपछि अहिले तीनकुनेको अवस्था तनावग्रस्त बनेको छ ।
प्रहरीले बल प्रयोग गरेपछि उनीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका छन् ।
तीनकुनेमा जारी राजावादीहरूको प्रदर्शनमा अवस्था तनावग्रस्त बनेपछि हिले त्यहाँ प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरिरहेको छ ।
त्यहाँ समर्थकहरूले तीन व्यक्तिका घर पनि तोडफोड गरेका छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापना लागि संयुक्त जनआन्दोलन समिति’लाई स्थानिय प्रशासनले तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको छ ।
तर, प्रदर्शनकारीहरु त्यहाँबाट बानेश्वरतर्फ जान खोजेपछि तनाव उत्पन्न भएको छ । गणतन्त्रका पक्षधर समूहले प्रदर्शनीमार्गमा प्रदर्शन गरिरहेका छन् ।