काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले तीनकुनेमा मण्डलेहरूले अराजकताको हद नाघेको टिप्पणी गरेका छन् ।
गणतन्त्रको पक्षमा समाजवादी मोर्चाले गरेको कार्यक्रमलाई बुधबार प्रदर्शनीमार्गमा सम्बोधन गर्दै प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् । उनले काठमाडौँको तिनकुनेमा आज राजावादीहरुले घरहरु जलाएर आतंक सिर्जना गर्ने प्रयास गरेको आरोप लगाए ।
‘गणतन्त्रवादी मोर्चाको हैसियतले समाजवादी मोर्चाको तर्फबाट सभा गर्ने घोषणा थियो । अर्कोतिर राजावादीले पनि आजै कार्यक्रम राखे । १२ वर्ष कुकुरको पुच्छर ढुंङग्रोमा हाले पनि बाङ्गाको बाङ्गै जस्तो भयो,’ प्रचण्डले भने, ‘मण्डले अराजकताको पराकाष्ठा तीनकुनेमा देखियो । प्रतिगामीको पराकाष्ठा घरमा आगो लगाउने , पुलिसमाथि आक्रमण गने, मान्छे मरून् भन्नेसम्मको अराजकता फैलाउन लागे ।’
गणतन्त्रको पक्षमा आफूहरूले गरेको सौम्य प्रदर्शन र सभालाई हेर्न उनले राजावादीलाई चुनौती दिए । उनले ज्ञानेन्द्रले आफूले गरेको गल्तीको परिणाम अहिले भोगिरहेका भन्दै उनलाई अर्को गल्ती गर्न चेताबनीसमेत दिए । ‘ज्ञानेन्द्रले प्रतिगमनतिर जाने अर्को गल्ती गरे झन् ठूलो मूल्य चुकाउने छन्,’ प्रचण्डले भने।