काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजावादीसँग मिलेको त होइन भन्दै प्रश्न गरेका छन् ।
समाजवादी मोर्चाले शुक्रबार काठमाडौंमा गरेको सभामा बोल्दै प्रचण्डले प्रधानमन्त्री ओलीलक्षित सो प्रश्न तेर्साएका हुन् । उनले ओलीले गणतन्त्रवादी हुँ भनेर आफूलाई पुष्टि गर्नुपर्ने बताए
‘हिजो पटक-पटक संविधान मिचेर संसद् विघटन गर्ने, अहिले उल्टो काम गर्दा राजावादीसँग मिलेको त होइन भन्ने प्रश्न छ । हिजो पनि उहाँ राजावादीसँग मिल्न खोज्नुहुन्थ्यो । हिजो गणतन्त्रसँग ओलीजीको रिस थियो । बयलगाडाको आविष्कारक उहाँ हो,’ प्रचण्डले भने, ‘उहाँलाई गणतन्त्रसँग रिस छ । उल्टो उल्टो काम गरिदिएपछि राजावादीलाई फाइदा हुन्छ । यसैले गणतन्त्रवादी नै हो भन्नेको लागि पुष्टि गर्नुपर्छ । सदनमा आएर जवाफ दिनुपर्छ । यस्तै अहंकारले चिजहरू बिग्रिएकै छ ।’
साथै उनले संविधानमा भएका कमीकमजोरी सच्याएर अघि बढ्नुपर्ने बताए । ‘अब संविधान संशोधन अगाडि संविधानको बारेमा सबै राजनीतिक शक्तिबीच बहस, छलफल र समीक्षा हुनुपर्यो कहाँ कमजोरी भयो’, उनले भने।