काठमाडौं । राजावादी आन्दोलनका मुख्य कमाण्डर दुर्गा प्रसाईंले प्रदर्शनकारी उक्साउँदै गाडी चलाएर दुई तहको सुरक्षा घेरा तोडेपछि तीनकुनेदेखि बानेश्वरसम्मको क्षेत्र रणमैदान बनेको थियो ।
प्रसाईंले सुरक्षाकर्मीलाई गाली गर्दै गाडीले पेलेर निधेषित क्षेत्र तोडेका थिए । आफैं गाडी चलाउँदै बीएबी ४२४८ नम्बरको गाडीमा उनी अघि बढेका थिए ।
भिडियोमा ‘आओ–आओ’ भन्दै उनी गाडी चलाउँदै अघि बढेको देखिन्छ । केही पर भने निषेधित क्षेत्रमा ठूलो संख्यामा प्रहरी उभिएका थिए ।
उग्र गाली गर्दै गाडी चलाउँदै अघि बढेका प्रसाईंले सुरक्षाकर्मीलाईसमेत अश्लिल गाली गरेका थिए ।
प्रहरीले उनको गाडी रोख्न खोजेको थियो । तर उनी भने प्रहरीलाई नै पेल्दै अघि बढेका थिए । जनपथ प्रहरीको घेरा तोडेका उनले शसस्त्र प्रहरीको अर्को घेरा तोड्दा समेत प्रहरीले उनीमाथि एक्सन लिन नसक्दा प्रदर्शनस्थल रणमैदान बन्न पुगेको थियो ।
निषेधित क्षेत्र तोडेर अघि बढेका प्रसाईंकै कारण राजावादीको आन्दोलन निकै उग्र बनेको थियो । पहिलो घेरामा रहेको प्रहरीको घेरा तोडेपछि तोडेपछि त्यसपछिका सुरक्षाकर्मी भने डराउँदै उनलाई बाटो छोडेको भिडिओमा देखिन्छ ।
सोही क्रममा अवस्था तनावग्रस्त बन्दै गयो । ठाउँ ठाउँमा तोडफोड र आगजनी समेत भयो । तीनकुने क्षेत्रका कतिपय घरमा आगजनी भएको छ भने नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा समेत आगजनी भएको छ ।
त्यसैगरी लागू औषध नियन्त्रण ब्यूरोको सरकारी गाडि जलाइएको छ भने प्रहरीको बन्दुक नै प्रदर्शनकारीले खोसेका छन् । त्यतिमात्रै होइन प्रदर्शनका लागि तीनकुनेमा जम्मा भएका आन्दोलनकारीले माओवादी पार्टी कार्यालयमा समेत क्षती पुर्याएका छन् ।
बालकुमारीमा रहेको भाटभटेनी सुपर स्टोरमा ढुंगामुढा गर्दै लुटपाट मच्चाएका राजावादी प्रदर्शनकारीलाई प्रहरीले केही गर्न सकेन । अवस्था तनावग्रस्त बनेपछि काठमाडौं प्रशासन राति १० बजेसम्मलाई पाँच स्थानमा कर्फ्युसमेत लगाएको छ ।
गौशाला एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कर्फ्यु जारी गरिएको छ ।
ललितपुरतर्फ बालकुमारी पुल, भक्तपुरतर्फ जडबुटी पुल, सिनामंगल चोक र तिनकुले पुल क्षेत्रमा कर्फ्यु लगाइएको छ ।
व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कर्फ्यु लगाएको थियो ।