काठमाडौं । शान्तिपूर्ण आन्दोलनको नाममा शुक्रबार राजावादीहरुको काठमाडौंको तीनकुनेमा हिंसात्मक प्रदर्शन गरेको घटनापछि पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा) उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरासहित पाँच जनाललाई काठमाडौं प्रहरी परिसरको कार्यालय भद्रकालीमा राखिएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालित टोलीले मिश्र, जबरा, स्वागत नेपालसहित पाँच जनालाई काठमाडौंबाटै पक्राउ गरेको हो।
उनीहरूलाई राति नै काठमाडौं प्रहरी परिसरको कार्यालयको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालय स्रोतले बताएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार मिश्र र जबरासहित पाँच जनालाई कुन–कुन मुद्दा चलाउने भन्ने विषयमा छलफल भइरहेको छ।
राजावादीहरुलले हिजो मच्चाएको आन्दोलन राजनीतिक प्रकृतिको हिंसा भएकाले पक्राउ परेकाहरूलाई के–के मा मुद्दा चलाउन मिल्छ भनेर सरकारी वकिल र महान्यायाधीवक्ताको कार्यालयसँग पनि प्रहरीले समन्वय गरेर निर्णय गर्नेछ।
प्रहरीले थप अनुसन्धान गर्न म्याद थपका लागि अदालत उपस्थित गराउनुपर्नेछ। शनिबार अदालत बन्द हुने भएकाले पक्राउ परेकाहरुलाई आइतबार अदालत उपस्थित गराइ म्याद गरी प्रहरीले अनुसन्धान थाल्नेछ।
तीनकुनेको हिंसात्मक क्रियाकलापमा संलग्नहरूमाथि फौजदारी अनुसन्धान
तीनकुनेमा दुई जनाको ज्यान जानेगरी भएको हिंसात्मक घटनामा संलग्नहरूलाई संगीन प्रकृतिको कसुर आकर्षित हुने गरी अनुसन्धान हुने भएको छ ।
शुक्रबार रातिको मन्त्रिपरिषद बैठकमा हिंसात्मक र आपराधिक क्रियाकलाप बारे गम्भीर रूपमा छलफल भएको थियो । शनिबार बिहानदेखि प्रहरीले प्रमाण संकलन गर्न थालिसकेको छ ।
व्यक्ति हत्या, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव एवं संगठित अपराधको आरोप आकर्षित हुनेगरी अनुसन्धान अघि बढिसकेको छ ।
शुक्रबारको मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपूर्ण आन्दोलनमा सरकारको विमति नभएपछि विरोधसभाका नाममा शुरु भएको तोडफोड र दुई जनाको ज्यान जाने गरी भएको हिंसात्मक गतिविधिको अनुसन्धानमा कठोर भएर प्रस्तुत हुन गृहप्रशासनलाई निर्देशन दिइसकेका छन् ।
पक्राउ परेकाहरुमाथि राज्यविरुद्धको कसुरदेखि संगठित अपराधसम्ममा अनुसन्धान हुने र त्यसमा संलग्नता देखिए सोही अनुसार मुद्दा दर्ता हुने प्रहरीको भनाई छ ।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यले शुक्रबारको घटना अरु सामान्य बेलाको शान्तिपूर्ण प्रदर्शन र निषेधित क्षेत्र तोड्ने खालको नभएर फरक प्रकृतिको भएकाले त्यही अनुसार नै राज्यको फौजदारी न्यायप्रणाली सक्रिय हुने बताए ।
शुक्रबार प्रदर्शनको भिडियो खिच्न घरभित्र पुगेको अवस्थामा राजावादी प्रदर्शनकारीहरूले आगजनी गर्दा एभिन्यूज टेलिभिजनका क्यामेरापर्सन सुरेश रजकको मृत्यु भएको थियो । त्यो घटनामा संलग्नहरूमाथि आकर्षित हुने ज्यान मार्ने अभियोगमा जन्मकैद (२५ वर्ष) सम्मको सजाय हुन्छ ।
आन्दोलनका कमाण्डर तोकिएका दुर्गा प्रसाई आफैंले हाइलक्स–पिकअप गाडी जबर्जस्ती अघि बढाएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको घेरा तोडेका थिए । त्यसक्रममा प्रहरीले संयमता नअपनाएको भए अप्रिय घटना हुने स्थिति हुन्थ्यो ।
एक पूर्वप्रहरी अधिकारीले अनलाइन नेपालसँग भने–‘यद्यपी राजावादीहरुको कार्यक्रम स्थलमा राष्ट्रिय गित बज्दै गर्दा प्रहरीबाट भएको टियर ग्यास फायरमा पनि अनुसन्धान हुनुपर्ने देखिन्छ । यदि यो सत्य हो भने आगोमा घ्यु थप्ने काम प्रहरी प्रशासनबाट भएको पुष्टि हुन्छ । व्यक्तिको घरको छतमा बसेर फायर खोल्नु प्रहरीको पनि गलत कदम हो ।’
दुर्गा प्रसाईं अझै फरार
शुक्रबार काठमाडौंको तीनकुनेमा हिंसात्मक प्रदर्शन गर्ने राजावादी समूहका ‘कमाण्डर’ मेडिकल व्यवसायी दुर्गा प्रसाईं अझै पक्राउ परेका छैनन्। प्रहरीलाई ‘जाहाँ बोलायो त्यहाँ आउँछु’ भन्दै चुनौती दिएका प्रसाईं अहिलेसम्म फरार नै छन् ।
काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयले उनको खोजी गरिरहेको छ। यद्यपि उनी नभेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी दिनेशकुमार आचार्यका अनुसार प्रसाईंसँगै उनीनिकटका मानिसहरू पनि मोबाइल अफ गरेर फरार छन्।
शुक्रबार निषेधित क्षेत्रतर्फ प्रदर्शनकारीहरूलाई आउन नदिनका लागि तैनाथ भएको प्रहरीलाई नै किचुँला झै गरी प्रसाईंले गाडी हुइँकाएपछि प्रदर्शनकारीहरू उग्र बनेका थिए।
प्रसाईंले चलाएका गाडीभित्रबाट भिडिओ खिच्ने युट्युबर पनि मोबाइल स्वीच अफ गरी फरार रहेको एसपी आचार्यले जानकारी दिए।
तीनकुनेको हिंसात्मक प्रदर्शनमा २ जनाको मृत्यु भएको थियो भने ११० जना सुरक्षाकर्मी घाइते भएका थिए। १४ ठाउँमा आगजनीका घटना र निजी तथा सरकारी गरी १५ गाडी जलाएका थिए।