काठमाडौं । राजावादी आन्दोलनलाई उत्तेजित बनाउने विवादास्पद धर्मगुरु पनि पक्राउ परेका छन् । शुक्रबार तीनकुनेको हिंसात्मक आन्दोलनमा ढुंगामुढा गर्ने धर्मगुरु पुष्कर खतिवडालाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनलाई प्रहरीको विशेष टोलीले इमाडोलस्थित एक घरमा लुकेको अवस्थामा नियन्त्रणमा लिएको हो । उनले आन्दोलनका क्रममा ढुंगा हानेका भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् ।
खतिवडा विवादास्पद धर्मगुरु हुन् । उनी यसअघि पनि पक्राउ परेका थिए । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलका शीर्ष नेताहरुको तस्बिर राखेर मृत्युको कामना गर्दै धार्मिक अनुष्ठान गरिरहेका बेला काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई उनको निवासबाटै पक्राउ गरेको थियो ।
सबैभन्दा अचम्म त के छ भने शुक्रबार राजा फर्काउने आन्दोलनको नाममा भएको आगजनी, लुटपाट र अराजकताको घटनाका प्रमुख नाइके मानिएका दुर्गा प्रसाईँलाई अहिलेसम्म फरार नै छन् ।
प्रहरीलाई जहाँ बोलायो त्यहिं आउँछु भनेर चुनौति दिएका प्रसाईं मोवाइल स्वीच अफ गरेर फरार भएका छन् । प्रहरी स्रोतका अनुसार प्रसाईं र विवादास्पद धर्म गुरु आज विहानसम्म सँगै थिए । तर, एकाएका प्रसाईं बेपत्ता भए भने खतिवडा पक्राउ परे ।
तोडफोड, आगजनी र आतंक मच्चाउन उक्साएर भागेका प्रसाई घरमा नगई हिजोदेखि भूमिगत भएका हुन् । केहीबेर सटरमा लुकेका उनी त्यहाँबाट सिधै विवादास्पद धर्मगुरु पुस्कर खतिवडाको ललितपुरस्थित इमाडोलस्थित घरमा गएको पाइएको प्रहरी स्रोतको दावी छ ।
स्रोत भन्छ–‘प्रसाईं तीनकुने क्षेत्रबाट भागेर पण्डित पुस्कर खतिवडाको घरमा राति गएर बसेका रहेछन् । प्रहरीले गरेको लोकेसन ट्रयाकमा पछिल्लो पटक उनी इमाडोल क्षेत्रमा देखिएका छन् ।’
उच्च सुरक्षास्रोतका अनुसार उक्त प्रदर्शनको अगुवाइ गरेका प्रसाईंसहित पक्राउ परेकाहरुविरुद्ध आगजनी, ज्यानसम्बन्धि कसुर, ज्यान मार्ने उद्योग, लुटपाट, राज्यविरुद्धको कसुर र संगठित अपराध अभियोगमा मुद्दा चलाउने तयारी छ ।
प्रहरीले अहिलेसम्म अराजकता मच्चाएको तथा उकासेको आरोपमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, वकिल स्वागत नेपाल, खतिवडालगायतलाई पक्राउ गरिसकेको छ ।