काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गृहमन्त्री रमेश लेखकलाई प्रहरी प्रशासनले तपाईंको आदेश नमानेको हो ? भन्दै प्रश्न गरेका छन्।
शनिबार बिहान एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा शुक्रबार आन्दोलनकारीले तोडफोड र आगजनीबाट भएको क्षतिको अनुगमन गर्न पुगेका गृहमन्त्री लेखकसँग उनले यस्तो प्रश्न गरेका हुन् ।
पार्टी कार्यालयमा आगजनी भएको बारे प्रहरी प्रशासनलाई समयमै जानकारी दिइए पनि प्रहरीले हेलचेक्र्याइँ गरेको पार्टीका नेताहरूको आरोप छ ।
‘आधा घण्टा वा १५ मिनेटअघि आन्दोलनकारी आएको भए यहाँ केही बाँकी रहने थिएन। तपाईंको आदेश प्रहरी प्रशासनले नमानेको हो कि हामीलाई त्यस्तो शंका लागिरहेको छ,’ माधवले प्रश्न गरे ।