Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

सुरक्षागार्डलाई पुरस्कृत गर्दा गुण्डा नाइके भन्दै दुर्गा प्रसाईमाथि खनिए भाटभटेनीका मालिक

सुरक्षागार्डलाई पुरस्कृत गर्दा गुण्डा नाइके भन्दै दुर्गा प्रसाईमाथि खनिए भाटभटेनीका मालिक

बुधवार , चैत्र १९, २०८१

काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरूङले दुर्गा प्रसाईंलाई गुण्डा नाइकेको सज्ञा दिएका छन् । सुरक्षा गार्डलाई सम्मान गर्न बुधबार आयोजित कार्यक्रममा सञ्चालक गुरूङले राजसंस्था पुनर्स्थापनाका लागि गठित ‘संयुक्त जनआन्दोलन समिति’ ले तोकेका ‘जनकमान्डर’ तथा मेडिकल व्यवसायी प्रसाईं गुण्डा नाइके भएको टिप्पणी गरेका हुन्।

प्रसाईंले विगत लामो समयदेखि व्यवसायीहरूमाथि धावा बोल्दै आए पनि राज्यले पुलपुल्याउँदा तीनकुने घटना भएको र आगजनी, तोडफोड र दुई जना युवाको मृत्युसमेत हुन पुगेको गुरूङको भनाई थियो ।

प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनका लागि भन्दै चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा तीनकुने र कोटेश्वर क्षेत्रमा तोडफोड, आगजनी र लुटपाट भएको थियो ।
सोही दिन कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट भवनमा ढुंगा प्रहार र लुटपाट हुँदा करिब ८० लाख रुपैयाँको क्षति पुगेको थियो।

लुटपाट गर्न आएकाहरूलाई भाटभटेनीका सुरक्षा गार्ड दुलप्रसाद पराजुलीले प्रतिकार गरेका थिए। उनलाई भाटभटेनीले ५ लाख नगद पुरस्कार र पाँच ग्रेड बढुवा गरिदिएको छ।

सम्मान कार्यक्रममा राज्यले सुरक्षा दिन नसकेको बताउँदै गुरुङले भने–‘एउटा गुन्डा नाइके, म भन्छु– दुर्गा प्रसाईं गुण्डा नाइके हो, गुण्डाकै नाइके हो त्यो । उसको चलन, क्रियाले राजसंस्था फर्कदैन, म ठोकुवा गरेर भन्छु, भाटभटेनीलाई ढुंगा हानेर, लुटपाट गरेर राजसंस्था फिर्ता हुन्छ ? नेपालको संविधान मेटिन्छ ? हामी बुझ्दैनौं ?’

यस्तै प्रवृत्तिले गर्दा व्यवसायीहरूले देश छाड्ने अवस्था बनेको बताएका उनले भने–‘मैले लालपूर्जा हेरेर जग्गा किन्दा संगठित अपराध गर्‍यो भन्ने, सरकारी जग्गा व्यक्तिका नाममा ल्यायो, संगठित अपराध भनेर जेल हाल्ने मलाई, एउटा डनलाई छाडा छाड्ने ?’

आम जनतालाई प्रसाईंको पछि नलाग्न आग्रह गर्दै उनले भने–‘चैत १५ गतेको आन्दोलनको लिडर, कमान्डर दुर्गा प्रसाईंको बिएण्डसी अस्पतालमा गएर हामीले ढुंगा हान्यो र लुटपाट गर्‍यौं भने के हुन्छ ? प्रसाईंको मन रूँदैन, चित्त दुख्दैन ? मीनबहादुर गुरूङ र भाटभटेनी परिवारको पनि मन दुखेको छ, यस्तो काम गर्न हुन्छ ? यो निन्दनीय छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077