एजेन्सी । फोर्ब्सले सन् २०२५ का लागि विश्वका अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ । यस वर्ष विश्वका अर्बपतिहरुको सूचीमा ३ हजार २८ उद्यमीहरु रहेका छन् । जुन गएको वर्षको तुलनामा २४७ ले बढी हो ।
विश्वका धनाढ्यहरूको सूचीमा नेपालका अर्बपति विनोद चौधरीको नाम १७६३औं स्थानमा आएको छ । चौधरीको सम्पत्ति २ अर्ब अमेरिकी डलर पुगेको उल्लेख गरेको छ ।
चौधरीको सम्पत्ति गत वर्षको तुलनामा यस वर्ष २० करोड अमेरिकी डलरले बढेको छ । उनको सम्पत्ति कुल २ खर्ब २७ अर्ब रुपैयाँको हाराहारीमा रहेको छ ।
फोर्ब्सका अनुसार विश्वका सबैभन्दा धनी व्यक्तिको पहिलो नम्बरमा संयुक्त राज्य अमेरिकाका एलन मस्क रहेका छन् ।
सूचीअनुसार एलन मस्क ३ सय ४२ अर्ब डलर सम्पत्तिसहित विश्वकै धनी व्यक्ति हुनुभएको फोर्ब्सले जनाएको छ । दोस्रो स्थानमा २१६ अर्ब डलर सम्पत्तिका साथ मेटाका मार्क जुकरबर्ग रहेका छन् ।
अमेरिका सबैभन्दा धेरै अर्बपति जन्माउने देश बनेको छ । अमेरिका ९०२ अर्बपतिसहित सूचीको शीर्ष स्थानमा छ । फोर्ब्सको सूचीमा भएका शीर्ष १० धनाढ्यहरुमध्ये ८ स्थानमा अमेरिकी नाम रहेको छ ।
अमेरिकापछि हङकङसहित चीन ५ सय १६ अर्बपतिसहित दोस्रो स्थानमा रहेको छ भने भारत २०५ अर्बपतिसहित तेस्रो स्थानमा छ । यस वर्ष २८८ जना नयाँ अर्बपति फोर्ब्सको सूचीमा परेका छन् ।