काठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत १५ गते राजावादी आन्दोलनको क्रममा अगुवाहरूले भिडलाई उत्तेजित बनाएको दोहोर्याएका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिमा पुगेका उनले १५ गते शुक्रबारको घटनाबारे जवाफ दिँदै निषेधित क्षेत्र तोड्दै संसद भवन छिर्न उक्साउने, घरमा मान्छे भनेर थाहा हुँदै गर्दा आगो लगाउने, दमकललाई छेक्ने, पार्टी कार्यालय र नेताको घर तोडफोड गर्ने र ढुंगा हान्नेसम्मका काम भएको बताए ।
यद्यपी उनले दुर्गा प्रसाईंले प्रहरी घेरा तोड्नपूर्व मञ्चमा टियर ग्यास फालिएको विषय भने आफ्नो बचाउ गरे ।
लेखकले भने–‘संयमता नअपनाएको भए अझ धेरै क्षति हुने थियो, जस्तो आपराधिक गतिविधि भए, त्यसरी नै सुरक्षा निकाय संयम नभएको भए अझ ठूलो क्षति हुने थियो । अराजकता फैलाएर संविधान समाप्त पार्ने गतिविधि भएका थिए भन्नेमा स्पष्ट छु । नजिकै एयरपोर्ट छ, त्यहाँ आगजनी गर्ने काम भएको छ, नजिकै विदेशी जहाज छन्, त्यत्रो ठूलो तेलको भण्डारण छ । नजिकै प्रज्वलनशील पदार्थ थियो । यदि त्यहाँ आगो टिपेको भए काठमाडौंको अवस्था भयावह हुने थियो । त्यसरी नै लोकतन्त्रलाई जीवन्त राख्न सक्छौं रु’
उनले हिंसात्मक गतिविधिलाई लुकाउन मञ्चमा टियर ग्यास फालिएको भन्दै गलत प्रचार गरिएको जिकिर गरे ।
समितिमा के भने गृहमन्त्री लेखकले ? उनको भनाई जस्ताको त्यस्तै
राजावादीका अगुवाले भिडलाई उत्तेजित बनाएर निषेधित क्षेत्र तोड्ने संसद भवन नै तोडफोड गर्नका लागि उक्साए घरमाथि मानिस छ भनेर जानकारी हुदाँहुदैँ घरमा आगो लगाइयो ।
यो एकदमै उक्साहट गरेर भिडलाई अनियन्त्रित गरेर असहज वातावरण बनाउने योजना थियो । आगजानी नियन्त्रण लिन हर प्रयास भयो । तर, प्रहरीले सकेन । दमकल पनि बोलाइएको थियो, आगो निभाउने क्रममा प्रदर्शनकारीबाट रोक्ने छेक्ने कार्य भएका कारण दमकलमा क्षति र सुरक्षाकर्मी घाइते भएकाले आगो नियन्त्रण गर्न सकिएन ।
समयमै भवनमा प्रहरी छिर्न नसकेका कारण सुरेश रजकको जीवितै उद्धार गर्न सकिएन । सबै पार्टी कार्यालयलाई लक्षित गरेर आक्रमण गरियो । तर, समयमै सुरक्षाकर्मी पुगेका कारण गर्न सकेन । माधव नेपालको घरसम्म पनि पुगेर ढुंगा हान्ने काम भएको छ ।
भाटभटेनीमा तोडफोड तथा लुटपाट गरियो । जडिबुटी प्रशोधन केन्द्रमा आगलागी गरियो, त्यो ठाउँमा समिति गएर हेर्दा हुन्छ । पार्किङमा रहेका सरकारी गाडीमा पनि क्षति पुर्याइयो । गोली चलाउदाँ सविन महर्जन घाइते, शिक्षण अस्पतालमा निधन भएको घोषणा भयो ।
प्रहरीतर्फ ५५ जना, सशस्त्र प्रहरीतर्फ २४ जना र सर्वसाधारणतर्फ ५४ जना घाइते, ५८ भवनमा तोडफोड तथा आगाजानी, १३९ जना वटा सवारी साधनमा क्षति पुर्याइएको छ ।
धवलशमसेशर राणासहितलाई नियन्त्रणमा लिइएको छ । अनुसन्धानको क्रम जारी छ, संलग्न रहेकाको खोजी कार्य जारी रहेको छ । संयमता नअपनाएको भए अझ धेरै क्षति हुने थियो, जस्तो आपराधिक गतिविधि भए, त्यसरी नै सुरक्षा निकाय संयम नभएको भए अझ ठूलो क्षति हुने थियो । अराजकता फैलाएर संविधान समाप्त पार्ने गतिविधि भएका थिए भन्नेमा स्पष्ट छु ।
नजिकै एयरपोर्ट छ, त्यहाँ आगजनी गर्ने काम भएको छ, नजिकै विदेशी जहाज छन्, त्यत्रो ठूलो तेलको भण्डारण छ । नजिकै प्रज्वलनशील पदार्थ थियो । यदि त्यहाँ आगो टिपेको भए काठमाडौंको अवस्था भयावह हुने थियो । त्यसरी नै लोकतन्त्रलाई जीवन्त राख्न सक्छौं ?
यो राजनीतिक आदर्श र चेतनामा उभिएर गरिएको काम होइन, हिंसात्मक गतिविधिबाट उल्ट्याउने एउटामात्रै उद्देश्य छ । यसमा हामी सबै सचेत हुन जरुरी छ । यो लोकतन्त्र र संविधान सित्तैमा आएको होइन, कैयौँ पुस्ताको लगानी छ । बल प्रयोग गरेर भन्ने छन्, संययता अपनायो भन्ने पनि छ । जे गरे पनि प्रश्न उठ्छ नै । यी विषयलाई गम्भीर रूपमा लिऊँ ।
यसरी गरिएको हिंसात्मक गतिविधिलाई लुकाउनका लागि विभिन्न खालका प्रचार गरिएका छन् । कहाँबाट टियर ग्यास फालिएको भनिएको छ, पहिले नै बल प्रयोग गरिएको छ भनिएको छ । लोकतन्त्र मास्नेको पहिलो निशानामा सञ्चार जगत रहन्छ । राजनीतिक दलका पार्टी कार्यालयमा आक्रमण भएको छ । नेताको घरमा आक्रमण भएको छ ।
यसले लोकतन्त्र समाप्त गर्ने षड्न्त्र पुष्टि भएको छ । सञ्चारगृह र सञ्चारकर्मीको सुरक्षा गर्न सरकार प्रतिवद्ध छ । संविधानको रक्षा नै सरकारको पहिलो दायित्व हो । लोकतान्त्रिक अधिकारको उपयोग गर्नमा कुनै बाधा अपरोध पुर्याउँदैनौं । तर, हिंसात्मक गतिविधि, यो व्यवस्थालाई उल्ट्याउने गतिविधिलाई सधै सरकारले निस्तेज गर्नेछ ।