काठमाडौं । जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गरेको छ ।
केन्द्रीय अनुशासन समितिको संयोजक समेत रहेका अर्का उपाध्यक्ष नरेन्द्रप्रसाद चौधरी र केन्द्रीय सचिव तथा अनुशासन समितिकी सदस्य सचिव अनिताकुमारी मण्डलको संयुक्त हस्ताक्षरबाट साहलाई चैत १४ गतेदेखि लागू हुने गरी ६ महिनाका लागि निलम्बन गरिएको हो ।
पार्टीको केन्द्रीय अनुशासन समितिले साहलाई यसअघि ११ बुँदे स्पष्टीकरण सोधेको थियो । गत फागुन २१ मा सोधिएको स्पष्टीकरणको जवाफ साहले फागुन २७ मा दिएका थिए ।
साहमाथि पार्टी अध्यक्ष डा. सीके राउतको पारिवारिक मामलामा प्रहरीमा उजुरी दिन लगाएको, विरोधीले लेखेका कुरा सामाजिक सञ्जालमा सेयर गरेको, पत्रपत्रिकामा अध्यक्ष र पार्टीविरुद्ध अन्तर्वार्ता दिएको, कार्यकर्तालाई फोन र मेसेज गरेर गुटबन्दी गरेको लगायत आरोप लगाइएको छ ।