काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शमशेर राणाले चैत्र १५ गते नेपाली जनताले गरेको शान्तिपूर्ण कार्यक्रममा सरकारले जनतामाथि गोली चलाउँदै बर्बरतापूर्वक दमन गरेको आरोप लगाएका छन् ।
शुक्रबार साँझ पत्रकारसँगको एक भेटघाट कार्यक्रममा राणाले सरकार आफैले बर्बरतापूर्वक दमन गरेर बिना कारण गैरकानूनी रूपमा जनतालाई पक्राउ गरेको दावी गरे ।
पत्रकार सम्मेलनमा उनले उक्त कार्यक्रमपछि पक्राउ परेका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा. धवल शमशेर राणालगायत राष्ट्रवादीहरूलाई सरकारले तत्काल निःसर्त रिहा गर्नु पर्ने माग गरेका छन् ।
उनले भने–‘संवैधानिक राजसंस्था चाहियो, सनातन हिन्दु अधिराज्य चाहियो, संघीयता खारेजी होस्, भ्रष्टाचार र कुशासनको अन्त्य होस् भनी चैत्र १५ गते नेपाली जनताले गरेको शान्तिपूर्ण कार्यक्रममा सरकारले जनतामाथि गोली चलायो, बर्बरतापूर्वक दमन गर्यो । बिना कारण गैरकानूनी रूपमा जनतालाई पक्राउ गर्यो ।’
राणाले तीनकुने घटनामा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन नगर्ने सरकारको भूमिकामा आशंका व्यक्त गर्दै उनले भने–‘यस सन्दर्भमा म वर्तमान सरकारलाई राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री तथा सांसद डा. धवल शमशेर राणा लगायत अन्य राष्ट्रवादी साथीहरूको निःसर्त रिहाइको माग गर्दछु ।’
१५ गतेको कार्यक्रममा सारकार नै मुख्य दोषी रहेको उनको आरोप थियो । पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका राणाले भने–‘घटनाको सन्दर्भमा एक उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी दोषी उपर कडा कारबाही गर्न म जोडदार रूपमा आह्वान गर्दछु । त्यति मात्र हैन, वास्तवमा यस किसिमको आयोग तत्काल गठन भई, त्यसको निष्कर्ष प्राप्त भएर कारबाही भइसक्नु पर्दथ्यो । यस प्रकारको ढिलासुस्तीमा पनि सरकार नै पूर्ण दोषी छ । सरकारको यो पाशविक दमन र बर्बरतापूर्ण कारबाहीको म घोर भर्त्सना गर्दछु ।’