काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी ओली सरकार यथास्थितिवादको बाटोमा हिँडेको आरोप लगाएका छन् । उनले सरकार यथास्थितिवादको बाटोमा हिंडिरहेकाले पुनरुत्थानवादीहरु अहिले जुर्मुराएको पनि दावी गरे ।
काठमाडौं स्थित काँडाघारीमा भएको कार्यकर्ता भेटघाट तथा विद्यालयको बार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले भने–देशमा संविधान जारी भइसकेपछि आमूल परिवर्तन गर्नुपर्छ भन्ने आम जनआकांक्षा थियो, राष्ट्रको आकांक्षा पनि त्यही थियो । पार्टीका कार्यकर्ताहरु र सम्पूर्ण वामपन्थीहरुको आकांक्षा थियो तर नेतृत्वमा वा सत्तामा पुगेपछि वामपन्थी साथीहरु यथास्थितिको बाटोमा हिड्नुभयो । सामान्य सुधारका कुराहरु अर्थात यति सडक बनाए उति बनाए भन्ने खालका क्रियाकलापमा अल्झिनुभयो ।’
कार्यक्रममा बोल्दै नेता खनालले राजतन्त्रको पक्षमा चैत १५ गते भएको हिसात्मक घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाह नै भएको दाबी गरे।
कसैलाई राजा चाहिएको हो भने ‘राजा चाइयो’ भन्ने पार्टी बनाएर आउन चुनौती दिए।
उनले भने–‘अनि त्यो पार्टीले संविधान अनुसार चुनाव पनि लड्नुपर्छ । चुनावमार्फत दुई तिहाई बहुमत ल्याउनुपर्छ र संविधान संशोधन गरेर राजा राख्ने व्यवस्था गर्नुहोला । त्यो संवैधानिक हकको कुरा हो । त्यो वाहेक अर्को बाटोबाट नेपालमा राजा आउने सम्भावना छैन् ।’