धनगढी । कैलाली बहुमुखी क्याम्पस (केएमसी)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा झण्डै साढे तीन दशकपछि नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विरासत फर्काएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा रहेको केएमसीको स्ववियु निर्वाचनमा नेविसंघ विजयी भएको हो ।
शुक्रबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार स्ववियु सभापतिमा नेविसंघका सन्तोष पन्त विजयी हुनुभएको छ। वर्तमान स्ववियु सचिव समेत रहेका पन्त ८२७ मत पाएका छन्।
उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका पवन सुनारले ५५८ मत पाए भने वर्तमान स्ववियु सभापतिसमेत रहेका अनेरास्ववियुका यमराज जोशीले ४२७, एकीकृत समाजवादी निकट अनेरास्ववियूले सुनिलराज जोशीले ६८ र नेविसंघकी बागी उम्मेदवार अम्बिका चौधरीले ९२ मत पाईन् ।
सचिवमा नेविसंघ र कोषाध्यक्षमा अखिल क्रान्तिकारीका उम्मेदवार विजयी भएका छन् । स्ववियु सचिवमा नेविसंघबाट ओमप्रकाश वस्ती र कोषाध्यक्षमा धर्मराज तिमल्सिना विजयी भएका छन् ।
कोषाध्यक्षमा नेविसंघकी प्रमिला शाह भने चार मतले पराजित भइन् । तीन हजार पाँच सय बढी मतदाता विद्यार्थी रहेको उक्त क्याम्पसमा २७ गते भएको मतदानमा दुई हजार ५७ मत खसेको थियो ।
कैलाली बहुमुखी क्याम्पसमा अहिलेसम्म १४ जना स्ववियु सभापति निर्वाचित भएका छन्। त्यसमा सात जना नेविसंघ, दुई जना नेविसंघकै बागी र पाँच जना अनेरास्ववियुका छन्।
सुदूरपश्चिमकै सर्वाधिक विद्यार्थी अध्ययन गर्ने कलेजका रुपमा रहेको उक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघ भने ३४ वर्षपछि विजयी भएको हो। ०४७ सालअघिका सबै निर्वाचनमा भने नेविसंघ नै विजयी भएको थियो ।