Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

प्रधानमन्त्रीलाई कांग्रेस सहमहामन्त्री परियारको पत्र - सरकार किन गम्भीर हुँदैन ?

प्रधानमन्त्रीलाई कांग्रेस सहमहामन्त्री परियारको पत्र - सरकार किन गम्भीर हुँदैन ?

सोमवार , बैशाख १, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सांसद जीवन परियारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै खुला पत्र लेखेका छन्।

उनले शिक्षकहरूको आन्दोलनलाई सम्बोधन गर्न ढिलाइ भएको भन्दै प्रधानमन्त्रीलाई पत्र लेखेका हुन्।

चैत २० गतेदेखि नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरू काठमाडौंकेन्द्रित आन्दोलनमा छन्।

विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग उनीहरूको छ।

सत्तारूढ कांग्रेस सहमहामन्त्री परियारले शिक्षकको मागप्रती सरकार गम्भीर हुनुपर्ने उल्लेख गर्दै पत्र लेखेका हुन्।

उनले शिक्षक महासंघले उठाएका जायज मागप्रति आफूहरूको समर्थन रहेको उल्लेख गरेका छन्।

यस्तो छ पत्र : 

सम्माननीय प्रधानमन्त्रीज्यू

जय नेपाल !

विषय : नेपाल शिक्षक महासंघको आन्दोलनलाई सम्बोधन गर्न सरकारलाई जोडदार माग गर्दै, खुल्ला–पत्र ।

नेपाल शिक्षक महासंघले विगत वर्षदेखि चरणबद्ध आन्दोलन गर्ने क्रममा यही चैत २० गतेदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गरिरहेको व्यहोरा अवगत नै छ । नेपाल शिक्षक महासंघसँग विगतमा सरकारले पटक–पटक सम्झौता गरेको विषय स्मरण गराउन चाहन्छु । महासंघले उठाएका जायज मागप्रति हाम्रो समर्थन रहेको छ ।

पार्टीको तर्फबाट अनौपचारिकरूपमा सरकारका सरोकारबाला मन्त्रीहरूसँग बारम्बार छलफल भएको नै छ । तथापी आजसम्म कुनै नतिजा नआउनु अत्यन्तै दुःखद पक्ष हो भन्ने हामीलाई लागेको छ ।

सोमबारदेखि २०८२ साल प्रारम्भ हुँदैछ । आम नेपाली जनता नयाँ वर्ष आ–आफ्नो तरिकाबाट मनाउँदै छन् तर आम शिक्षक साथीहरू माईतिघरमा आन्दोलन गर्नुपर्ने परिस्थिति सृजना भएको छ ।

सम्माननीय प्रधानमन्त्रीज्यू,

सरकार किन गम्भीर हुँदैन । के शिक्षकको शालिनतालाई कमजोरीकारूपमा त हेरिएको होइन ? यदि सरकारले शिक्षक महासंघको आन्दोलन अब १–२ दिनभित्र समाधान नभएमा नेपाली कांग्रेस पार्टीले यस विषयलाई गम्भीरता पूर्वक लिनु पर्दछ भन्ने मेरो पार्टीसँग समेत जोडदार माग रहनेछ ।

जय नेपाल !

जीवन परियार

प्रतिनिधिसभा सदस्य एवं सहमहामन्त्री, नेपाली कांग्रेस ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077