काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शिक्षक ऐनका बारेमा दिएको अभिव्यक्ति बाझिएपछि आन्दोलनरत शिक्षकहरु थप सशंकित बनेका छन् ।
सरकारले जस्तोसुकै आश्वासन दिएपनि कुनैपनि हालतमा ऐन जारी नभएसम्म आन्दोलन नछाड्ने चेतावनी दिएको शिक्षक महासंघले आजको सभामुखको अभिव्यक्तिपछि आन्दोलन झन चर्काउने भएको छ ।
सरकारले शिक्षकहरूको मागलाई प्राथमिकतामा राखेर वैशाख १२ गतेका लागि बजेट अधिवेशन आह्वान गरिसकेको बताइरहेका बेला सभामुख देवराज घिमिरेले भने बजेट अधिवेशनमा शिक्षकहरूका माग सम्बोधन नहुने प्रतिकृया दिएपछि शिक्षकहले आन्दोलनलाई चर्काउने बताइसकेका छन् ।
शिक्षकहरूले शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हडताल गरेपछि माग सम्बोधनकै लागि भनेर मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद्को अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो ।
तर, आज झापा पुगेका सभामुख घिमिरले वर्षे अधिवेशनमा बजेटलाई प्राथमिकता दिनुपर्ने भएकाले शिक्षा ऐन जारी गर्नु पर्ने शिक्षकका माग सम्बोधन नहुने बताएका हुन् ।
वैशाख १२ गतेदेखि सुरु हुने बजेट अधिवेशनमा शिक्षक ऐन नपर्ने बताएका उनले बजेट अधिवेशनले बजेटसँग सम्बन्धित विषयलाई नै प्राथमिकता दिनुपर्ने बताए ।
उनले भने–‘संविधानतः पनि १५ जेठमा बजेट प्रस्तुत हुनैपर्छ र असार मसान्तसम्ममा पारित भइसक्नुपर्छ । कानुनी प्रक्रियाको सीमाभित्रै बसेर काम गर्नुपर्ने बाध्यता हुन्छ ।’
यता शिक्षक महासंघका सहअध्यक्ष नानुमाया पराजुली भने सभामुखले मात्र होइन शिक्षा समिति सभापति अम्बरबहादुर थापाले पनि विधेयक टुंगो लगाउन अझैं डेढ महिना लाग्ने बताएकाले विश्वासको आधार बन्न नसकेको बताइन् ।
उनी भन्छिन्–‘‘विषयगत समितिको सभापति टुंगो लगाउन अझै डेढ महिना लाग्छ भन्नुहुन्छ । सरकार ठिक्क पारेर अधिवेशन बोलाउने । तर यो अधिवेशनमा पेस हुन्छ भन्ने ग्यारेन्टी छैन ।’
नेपाल शिक्षक महासंघले आन्दोलन ‘निर्णायक मोडमा’ आइपुगेको भन्दै थप शिक्षक तथा कर्मचारीहरुलाई काठमाडौं बोलाएका बेला सरकार र सभामुको अभिव्यक्ति बाझिएपछि आन्दोलन झन चर्किने अनुमान लगाउन सकिन्छ ।
शैक्षिक हड्ताल गरेर शिक्षकहरूले २० चैतदेखि काठमाडौंमा आन्दोलन गरिरहँदा ७० लाख विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।
१ वैशाखबाट २०८२ को शैक्षिकसत्र सुरु भए पनि सरकारी विद्यालय ठप्प छ । एसईई परीक्षाको परीक्षापत्र परीक्षण हुन सकेको छैन भने १२ वैशाखबाट हुने कक्षा १२ को परीक्षासमेत प्रभावित हुने जोखिम बढेको छ ।