काठमाडौं । गृहमन्त्री रमेश लेखकले जबरजस्ती र विध्वंसात्मक गतिविधिले देशलाई अस्थिरतातर्फ लैजाने भएकाले यसतर्फ सबैले सचेत हुनुपर्ने बताएका छन् ।
शुक्रबार पोखरामा गण्डकीस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्रको समर्थनमा भइरहेका प्रदर्शनलाई इंगित गर्दै लोकतन्त्रभित्र बसेर आफ्ना गतिविधि गर्नुपर्नेमा सचेत गराएका थिए ।
गृहमन्त्री लेखकले भने,‘शान्तिपूर्वक भेला हुने, प्रदर्शन गर्ने, ध्यानाकर्षण गराउने, विरोध गर्ने, आलोचना गर्ने सबैकुरा हुन्छ । तर, विध्वंसात्मक कार्य गर्ने हत्याहिंसालाई प्रश्रय दिने, जबरजस्ती गर्ने, त्यसैमार्फत संविधान फाल्छु र देशलाई अस्थिरतातर्फ लैजान्छु भन्न पाइँदैन । यसका बारेमा सबै सचेत हुनु जरुरी छ ।’
गणतान्त्रिक संविधानलाई समाप्त पार्ने अधिकार कसैलाई नभएको उनले बताए ।
पाँच -पाँच वर्षमा आवधिक निर्वाचनमा गएर आफूलाई मन लागेको पार्टी र नेतालाई जिताउन पाइने भन्दै उनले लोकतन्त्रभित्रै बसेर आफ्ना गतिविधि गर्न आग्रह गरे ।
उनले भने,‘सरकार बदल्न पाइन्छ । पाँच–पाँच वर्षमा आवधिक निर्वाचनमा गएर आफूलाई मन लागेको पार्टी र नेतालाई जिताउन र हराउन पाइन्छ तर लोकतान्त्रिक गणतान्त्रिक संविधानलाई समाप्त गर्छु भन्न पाइँदैन, च्यात्न पाइँदैन भत्काउन, फाल्न पाइँदैन । ’