काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्ने हल्ला र चर्चाका पछाडि कुनै सत्यता नरहेकाले ढुक्का साथ विकास निर्माणका काममा लाग्न निर्देशन दिएका छन् ।
चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले भने,‘ढुक्कका साथ विकास निर्माणका काममा लाग्नुस्, नलाग पछि हल्लैको भन्ने गीत छ नि, हल्लाको पछाडि लाग्नुपर्ने आवश्यकता छैन ।’
कांग्रेस र एमाले जस्ता ठूला र इतिहास बोकेका दलहरुले देशमा विकास र सुशासन दिनका लागि एकसाथ मिलेर सरकार गठन गरिएको उनले बताए ।
उनले भने,‘देशलाई सुशासनयुक्त बनाउन, नेपाललाई समृद्ध देश र सुखी नेपाली बनाउनुपर्छ, त्यो भन्दा परिस्कृत परिमार्जित गन्तव्य अरु छैन ।’
इच्छाकामना मन्दिरको दर्शन नगरी मनोकामना पुरा नहुने भएकोले धार्मिक र पर्यटकीय सम्भावना उच्च रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
इच्छाकामना गाउँपालिका प्राकृतिक रुपमा निकै सम्भावना भएको पालिका भएको भन्दै उनले चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारी गरेर गर्मीको बेला चिसो हावा खान इच्छाकामना गाउँपालिकामा आउने सकिने बताए ।
प्रधानमन्त्री ओलीले चितवनको एक मात्रै गाउँपालिका इच्छाकामना गाउँपालिकाको ४ करोड २ लाख रुपैयाँको लागतमा बनेको भवनको उद्घाटन गरेका हुन् ।