काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले अब समस्या देखाएर मात्र नहुने बताएका छन् ।
शुक्रबार नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले समस्याको समाधान पनि दिनुपर्ने दायित्व आफूहरूलाई भएको बताए ।
'कांग्रेस पार्टीले अब समस्या मात्र देखाएर हुँदैन, समाधान पनि दिनुपर्छ । हामी समाधान दिने पार्टी हो । हाम्रो ड्युटी हो यो । नेपाली कांग्रेस पार्टीले नेपालमा रोजगारीको समस्या छ समाधान दिने हो,' उनले भने ।
साथै उनले अब पार्टीको काम गर्ने तरिका पनि बदलिनु पर्ने बताए । उनले भने, 'अब पार्टीको काम गर्ने तरिका पनि बदलिनुपर्छ । पार्टीको दृष्टिकोण पनि बदलिनुपर्छ । अब हामीले गनगन गर्ने पनि होइन, रुवाबासी गर्ने पनि होइन । अब समस्या भएको क्षेत्रमा कांग्रेस छ र समाधान दिन्छ भन्ने पार्टी बनाएर जान आवश्यक छ ।'