काठमाडौं । बागमती प्रदेशका आन्तरिक, मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले संघीय कानुनहरू नबन्दा अहिले प्रदेश सरकारको पर्फमेन्स शून्य देखिएको बताएका छन् ।
काठमाडौंमा शनिबार आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
संघ सरकारले आवश्यक कानुन नबनाइदिँदा प्रदेश सरकारको भूमिका शून्य देखिएको उनले बताए ।
‘कानुनमन्त्री लामिछानेले भने,‘मैले बनाएको कानुन संघीय कानुनसँग जुध्छ । संघीय कानुन १२ सालको छ । तीन वटा मन्त्रालय सम्हालेको छु । तर अधिकारविहीन छु ।’
प्रदेश सरकार गठन भएको ७ वर्ष भइसक्दा पनि संघीय निजामती, संघीय प्रहरी ऐन र शिक्षा ऐन लगायतका विषयहरूमा संघीय कानुन नभएको कारणले प्रदेश सरकार बुख्याँचा जस्तो भएको उनको भनाई थियो ।
नागरिकको नजरमा पनि प्रदेश सरकारको आवश्यकता नरहेको भन्ने भ्रम पैदा भएको बताउदै उनले संघ सरकारले छिटो भन्दा छिटो संघीय कानुन बनाएर प्रदेश सरकारलाई अधिकार हस्तान्तरण गर्न अनुरोध गरे ।