अछाम । नेकपा एमाले अछाममा फेरि पहिरो गएको छ । आइतबार एमाले सुदूरपश्चिम प्रदेश लेखा कमिटी सदस्य बालागिरी कुँवरसहित ७० नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका हुन् ।
एक विज्ञप्तीमार्फत कुँवरले ३५ वर्ष लामो पार्टी यात्रा त्याग्दै मातृभूमि जागरण अभियानमा सहभागी हुने घोषणा गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको गुटबन्दी, निरङ्कुश कार्यशैली, पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभाव, भ्रष्टाचारमा संलग्न नेताहरूलाई संरक्षण, र जनवादी मूल्यहरूको अवमूल्यनले आफू पार्टी छोड्ने निर्णयमा पुगेको उनीसहितका नेताहरूले जारी गरेको वक्तव्यमा उल्लेख छ।
नेता रावल संयोजक रहेको मातृभूमि जागरण अभियानले भ्रष्टाचारको अन्त, राष्ट्रियता संरक्षण, सुशासन, र समृद्ध नेपालको परिकल्पना साकार पार्ने लक्ष्य राखेको पनि उल्लेख गरिएको छ ।
एमाले जिल्ला अधिवेशनको मुखैमा उनीहरुको राजिनामा आएको छ । यस्तै रावलको अभियानमा एकीकृत समाजवादीबाट पनि ५ जना समावेश भएका छन् ।
