काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्न सिंहदरबारभित्रै प्रदर्शन गरेको बताएका छन् । सिंहदरबारबाट पक्राउ परेका शाहीले आइतबार साँझ रिहा भएपछि यस्तो बताएका हुन् ।
उनले भ्रष्टाचारीहरूको अखडा सिंहदरबारभित्रै उनीहरूकै मुटुमा गएर ढ्याङ्ग्रो बजाउनुपर्ने रहेको बताए । त्यसैले सिंहदरबार भित्रै प्रदर्शन गरेको उनले बताए ।
उनले भने, 'आज राप्रपाको शक्ति प्रदर्शन होइन, हामीले शुभचिन्तक र राष्ट्रवादीहरूलाई आमन्त्रितसम्म गरेका थिएनौँ। आज त कसैलाई बोल्न नपाउने गरेर निषेधित क्षेत्र बनाउँदै जनताको मुख थुन्ने र भ्रष्टहरू रमाउने भ्रष्टाचारीहरूको अखडा सिंहदरबारभित्रै उनीहरूकै मुटुमा गएर ढ्याङ्ग्रो बजाउनुपर्ने थियो। त्यसैले हामीले सिंहदरबार भित्रै प्रदर्शन गरेका हौँ ।'
साथै उनले यो सुरुवात मात्रै भएको बताए । 'यो त सुरुवात मात्रै हो । देशलाई कंगाल बनाउने यो भ्रष्टाचारीतन्त्रको अन्त्य नगरी देशमा सुशासन र समृद्धि हुन सक्दैन । अवस्था सुधार्नका लागि व्यवस्था सुधार्न आवश्यक छ । नीति र नियम जनमुखी भएनन् भने व्यक्तिले मात्रै समाज परिवर्तन गर्न सक्दैन,' उनले भने ।