काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेसपा नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले हाल शिक्षक आन्दोलन र सरकारी उदासीनताका कारण पचासौं लाख विद्यार्थीहरूको भविष्य नै जोखिममा परेको बताएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन् । 'कति भयंकर विनाशकारी र क्रूर युद्ध त वार्तासम्वाद र लेनदेनबाट हल हुन्छ भने देशको अभिभावक सरकार र सबैलाई ज्ञानको ज्योति बाँड्ने गुरूहरू वीचको जुँगाको लडाइँ गम्भीर वार्ता र केही समयको अघिपछिबाट किन हल हुन सक्दैन ?,' उनले भने ।
उनले सरकारप्रति प्रश्न उठाउँदै सहमति भइसकेका मागहरू तत्काल लागू गर्न र बाँकी मागहरू निश्चित समयसीमाभित्र पूरा गर्ने प्रतिबद्धता जनाउन आग्रह गरे।
त्यस्तै, शिक्षकहरूलाई पनि 'गुरू ब्रह्मा, गुरू विष्णु, गुरूदेव महेश्वरु भन्ने संस्कृत श्लोक' उल्लेख गर्दै आफ्नो जिम्मेवारीबोध गर्न आह्वान गरे । उनले १२ कक्षाको परीक्षा र विद्यार्थी भर्ना अभियान जस्तो संवेदनशील समयमा आन्दोलनबाट एक कदम पछि हट्न सकिने सुझाव दिएका छन् ।
'यो जुँगाको लडाइँले पहिले नै तहसनहस भैसकेको सार्वजनिक शिक्षाको दाहसंस्कार हुन पुग्यो र देश युवाविहीन हुन पुग्यो भने इतिहासले कसैलाई क्षमा गर्नेछैन,' भट्टराईले चेतावनी दिँदै भने ।