काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्सलाई ९ विकेटले पराजित गरेको छ ।
हिजो भएको दोस्रो खेलमा चेन्नईले दिएको १ सय ७७ रनको लक्ष्य पछाएको मुम्बईले १५ ओभर ४ बलमा मात्र १ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।
मुम्बईको जीतमा रोहित शर्माले अविजित ७६ रन बनाए । यस्तै सूर्य कुमार यादवले पनि अविजित ६८ रन जोडे ।
चेन्नईका रविन्द्र जडेजाले एक विकेट लिए । त्यसअघि वाङखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो ।
चेन्नईका रविन्द्र जडेजाले ५३ रन बनाए । यस्तै शिवम दुबेले ५० रन जोडे । मुम्बईका जसप्रित बुम्राहले २ विकेट लिए ।
योसँगै मुम्बईको यो चौथो जीत भएको छ । मुम्बई ८ अङ्कसहित सातौं स्थानमा उक्लिएको छ । चार अङ्कसहित अङ्क तालिकाको पुछारमा रहेको चेन्नईको यो छैटौं हार हो ।