काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन आह्वान गरेका छन् ।
सम्भव मागहरु सबै पूरा गर्ने आश्वासन दिँदै उनले वार्तामार्फत आन्दोलन टुंग्याएर विद्यालय फर्किन आह्वान गरेका हुन् ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने,‘सरकार शिक्षकहरुका मागप्रति नेगेटिभ हुने कुरै छैन । सम्भव मागहरु सबै पूरा गर्छ । तुरुन्तै वार्तामा आएर विषय टुंग्याउनुस्, सहमति गर्नुस् र फर्किनुस् । मेरो आग्रह छ ।’
प्रधानमन्त्री ओलीले शिक्षकहरुले राखेका मागमा सरकार ‘नेगेटिभ’ नभएको बताए ।
प्रधानमन्त्री ओलीले आन्दोलनरत शिक्षकहरुलाई सम्झाउदै भने,‘यो आन्दोलनबाट कुनै लाभ छैन, विद्यार्थीलाई घाटा छ, अभिभावकलाई पीडा छ । त्यसकारण मेरो आग्रह छ उहाँहरुलाई, वार्तामा आउनुस्, कुरा गर्नुुस्, सम्भव कुरा सरकारले गर्दिन्छ । फर्किएर आ–आफ्ना काममा जानुस् ।’
यसअघि, शिक्षक महासंघका नेताहरुले प्रधानमन्त्री ओली, सभामुख देवराज घिमिरे, शिक्षामन्त्री विद्या भट्टराई लगायतसँग आफ्ना मागबारे छलफल समेत गर्दै आएका छन् ।
तर, सहमति नजुट्दा आज २० औं दिनसम्म पनि शिक्षकहरुले आन्दोलन जारी राखेका छन् ।विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म आन्दोलनरत शिक्षकहरु विद्यालय नफर्किने अडान लिएका छन् ।
सरकारी विद्यालयका शिक्षक तथा कर्मचारीहरुले शिक्षक महासंघको अगुवाइमा चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् । उनीहरुले चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल आह्वान गरेका छन् ।