काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा स्वीकृत नगर्न सुझाव दिएका छन् । शिक्षामन्त्री भट्टराईले सोमबार अपराह्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएकी थिइन् ।
लगत्तै सांसद थापाले सामाजिक सञ्जालमार्फत यस्तो सुझाव दिएका हुन् । उनले शिक्षामन्त्री भट्टराईको राजीनामा अनपेक्षित र असान्दर्भिक भएको बताए ।
उनले भनेका छन्, 'शिक्षामन्त्री विद्या भट्टराईले आज पदबाट दिनुभएको राजीनामा अनपेक्षित र असान्दर्भिक हो। उहाँले राजीनामा दिन जरूरी थिएन। मेरो सुझाव छ- उहाँको राजीनामा स्वीकृत नगरियोस्, ताकि संसदीय समितिमा विद्यालय शिक्षा विधेयकमाथि ११० दफासम्मको छलफल यही रफ्तारमा अघि बढ्न र बढाउन सम्भव हुने थियो।'
उनले थपेका छन्, 'उहाँले नराम्रो केही गर्नुभएको थिएन। शिष्ट, विनम्र, शालीन, अनुभवी र गम्भीर व्यक्तित्वका साथ उहाँले अस्वस्थताका बाबजुद यस कामलाई निष्कर्षमा पुर्याउन निष्ठाका साथ कोसिस नै गर्नुभएको थियो।'
बरू शिक्षक महासंघको नेतृत्वले आवश्यक र अनिवार्य समन्वय र सहयोग नगरी राजीनामाको माग गरेको उनले बताएका छन्।यस्तै उनले अब शिक्षा विधेयक झन् ढिलो हुन गएको बताएका छन्।
'प्रधानमन्त्रीज्यूले बैशाख २३ गते प्रतिनिधिसभामा टेबुल हुने दिन नै तोकेर भन्नुभएको थियो। त्यस मितिमा सम्बन्धित संसदीय समितिलाई काम पूरा गर्न सम्भव स्थिति नहुने भयो कि,' उनले भने, 'मन्त्रीको उपस्थितिबिना विधेयकमाथिको छलफल अघि बढ्न अनिवार्य हुन्छ। यसको प्रबन्ध मिलाउन र नयाँ मन्त्रीले विषयवस्तु बुझेर समितिमा दफावार छलफलमा सहभागी हुन त केही समय लाग्ने देखियो।'
यद्यपि शिक्षामन्त्री भट्टराईको राजीनामा स्वीकृत भने भएको छैन ।