काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक स्टुअर्ट ल नियुक्त भएका करिब एक महिनापश्चात शुक्रबार नेपाल आइपुग्ने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार उनी अप्रिल २५ तारिखमा नेपाल आउने कार्यतालिका रहेको छ।
गत चैत १५ गते प्रमुख प्रशिक्षकको रुपमा नियुक्त भएका उनी करिब एक महिनापश्चात नेपाल आउन लागेका हुन्।
उनको नियुक्तिपश्चात नेपालले ज्ञानेन्द्र मल्लको प्रशिक्षणमा हङकङ सिरिज खेलेको थियो। जसमा नेपालले उपविजेता हुँदै फर्किएको छ।
५६ वर्षीय स्टुअर्ट ल २०११ मा श्रीलंका, बंगलादेश, वेष्ट इन्डिज, अफगानिस्तान, बंगालदेशको यू–१९ टिम तथा अमेरिकाको प्रमुख प्रशिक्षकको रुपमा काम गरिसकेको अनुभव बटुलेका प्रशिक्षक हुन्। उनी अस्ट्रिलियाका पूर्व खेलाडी हुन्।
यसअघि क्यानले नेपालको प्रशिक्षकमा भारतीय मूलका मोन्टी देशाइलाई नियुक्त गरेको थियो। २०७९ माघमा नियुक्त भएका देशाइको सम्झौता २०८१ माघमा सकिएको थियो।
उनको प्रशिक्षणमा नेपालले एसिया कप र १० वर्षपश्चात टी–२० विश्वकप खेलेको थियो। उनले नेपालको टिममा रहेर २ वर्ष काम गरिसकेपश्चात क्यानले नयाँ प्रशिक्षकको रूपमा ललाई नियुक्त गरेको हो।